प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका अवसरमा विदेशमा सैन्य अभियानमा खटिएका आफ्ना सैनिकको प्रशंसा गरेका छन्।
उनले रुस–युक्रेन युद्धमा उत्तर कोरियाले गरिरहेको सैन्य सहयोगप्रति समेत समर्थन जनाएका छन्। बुधबार आयोजित कार्यक्रममा किमले विदेशमा तैनाथ उत्तर कोरियाली सेनाका कमान्डर तथा जवानप्रति विशेष सम्मान र कृतज्ञता व्यक्त गरेको उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ। किमले विदेशी सैन्य अभियानमा सहभागी आफ्ना सैनिकको योगदानलाई उच्च मूल्याङ्कन गर्दै उनीहरूप्रति सम्मान व्यक्त गरेका थिए।
सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि उत्तर कोरिया मस्कोको नजिकको सहयोगीका रूपमा देखिँदै आएको छ। आर्थिक तथा सैन्य प्रविधिसँग जोडिएको सहकार्यका क्रममा प्योङयाङले रुसलाई युद्धमा सहयोग गर्नुका साथै आफ्ना सैनिकसमेत पठाएको दाबी गरिएको छ। दक्षिण कोरियाका अनुसार रुस–युक्रेन युद्धमा उत्तर कोरियाका करिब २ हजार सैनिक मारिएका छन्। युक्रेनले पनि गत अगस्टमा रुसले उत्तर कोरियाली ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेको थियो। त्यसक्रममा कम्तीमा ९ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको युक्रेनको भनाइ छ।
युक्रेनले रुसमा करिब ५० हजार उत्तर कोरियाली सैनिक परिचालन हुन सक्ने दाबी गरे पनि त्यसको पुष्टि हुने ठोस प्रमाण वा निश्चित समयसीमा भने सार्वजनिक गरेको छैन। यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी क्षेप्यास्त्रबाट सुरक्षाका लागि दक्षिण कोरियासँग हवाई रक्षा प्रणाली उपलब्ध गराउन आग्रह गरेका छन्। तर दक्षिण कोरियाले उक्त आग्रहबारे हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।
