मन्त्री गौतमलाई कांग्रेस सांसदको प्रश्न,राष्ट्रिय सभाले कुन कानुन रोक्यो?

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद निनु कुमारी कर्णले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई राष्ट्रिय सभाका कारण कुन–कुन कानुन निर्माण हुन नसकेको हो भनेर प्रश्न गरेकी छन्।

बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद कर्णले मन्त्री गौतमको अभिव्यक्तिमाथि प्रश्न उठाएकी हुन्। केही दिनअघि मन्त्री गौतमले राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएका कारण जनअपेक्षाअनुसार कानुन निर्माण गर्न कठिनाइ भएको बताएकी थिइन्। त्यसप्रति प्रतिक्रिया दिँदै सांसद कर्णले मन्त्रीले आफ्नो कमजोरी ढाक्न राष्ट्रिय सभालाई दोष दिएको आरोप लगाइन्।

कर्णले प्रश्न गरिन्, ‘राष्ट्रिय सभाका कारण, प्रतिनिधि सभाका कारण वा अरू कुनै निकायका कारण कुन–कुन कानुन बनाउन रोकिएको हो?’ बैठकमा उनले अदालतबाट फैसला भए पनि त्यसको कार्यान्वयनमा भइरहेको ढिलाइप्रति समेत सरकारको ध्यानाकर्षण गराइन्। अदालतको फैसला कार्यान्वयनमा ढिलाइ हुँदा पीडित नागरिकले समयमै न्याय पाउन नसकेको उनको भनाइ थियो। मुद्दा टुंगो लगाउने प्रक्रियामै लामो समय लाग्नु र सुनुवाइका लागि तोकिएको पेसी पटक–पटक सर्दा न्याय प्राप्तिमा थप ढिलाइ भइरहेको उनले बताइन्। कर्णले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन आवश्यक कानुन निर्माण तथा कार्यान्वयनमा सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।

Back To Top
Modern Footer Design