बारा । बाराको कलैया–वीरगञ्ज सडकखण्डमा जिपको ठक्करबाट एक युवकको मृत्यु भएको छ। मृतकको पहिचान भने अझै खुल्न सकेको छैन।
प्रहरीका अनुसार बुधबार राति करिब सवा ९ बजे वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको ना.१ ज ६४०३ नम्बरको जिपले कलैया उपमहानगरपालिका–२३ स्थित गार्डेन भ्यु रिसोर्टनजिकै पैदल हिँडिरहेका अन्दाजी २२/२३ वर्षीय युवकलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका युवकलाई प्रहरीले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पठाइएको थियो।
तर अस्पतालमा उपचारकै क्रममा राति करिब साढे १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। मृतकको शव एलएस न्युरो अस्पतालमै राखिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न जिप र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। प्रहरीले मृतकको पहिचान खुलाउने प्रयास भइरहेको जनाएको छ।
