अस्ट्रेलियाली सांसद झी सुनले नेपाली समुदायसँग मनाए दसैँ

सिड्नी । अस्ट्रेलियाको प्रतिनिधिसभाका सदस्य झी सुनले सिड्नीको रिभरवुडस्थित गृह आश्रममा पुगेर विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरेका छन्।

अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहका अध्यक्षसमेत रहेका सांसद सुनले नेपाली समुदायसँग दसैँ मनाउँदै नेपाली संस्कृति र परम्पराप्रति सम्मान व्यक्त गरेका हुन्। गृह आश्रमका योगी आचार्य राजन शर्माका अनुसार अस्ट्रेलियाली राजनीतिक नेतृत्वले नेपाली समुदायका गतिविधि तथा सामाजिक योगदानलाई नजिकबाट नियालिरहेको छ। सांसद सुनको सहभागिताले बहुसांस्कृतिक अस्ट्रेलियामा विभिन्न समुदायबीच आपसी सद्भाव र सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुगेको उनले बताए।

कार्यक्रममा नेपाली पेन्सनर्स कम्युनिटीका अध्यक्ष लक्ष्मण श्रेष्ठसहित समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो। विभिन्न संस्कृति र पृष्ठभूमिका मानिसलाई एकअर्कासँग नजिक ल्याउन चाडपर्वले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै गृह आश्रमले कार्यक्रममा सहभागी सांसद सुन तथा उपस्थित सबैप्रति आभार प्रकट गरेको छ।

Back To Top
Modern Footer Design