थापाको अभिव्यक्तिप्रति शाहीको असहमति ‘कांग्रेस कसैको व्यक्तिगत सम्पत्ति होइन’

काठमाडौँ। नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले पार्टी सभापति गगन थापाले क्रियाशील सदस्यता अद्यावधिकसम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

मंगलबार झापामा आयोजित कार्यक्रममा थापाले सदस्यता अद्यावधिक नगर्ने व्यक्तिलाई पार्टीले सदस्यका रूपमा मान्यता नदिने बताएका थिए। सो अभिव्यक्तिपछि शाहीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यसलाई लोकतान्त्रिक अभ्यास र फरक विचारप्रतिको असहिष्णुताको संकेत भएको बताएका हुन्। शाहीले लामो समयदेखि पार्टीमा योगदान पुर्‍याएका नेता–कार्यकर्ताको सदस्यता अद्यावधिकको नाममा खारेज गर्ने प्रयासले कांग्रेसभित्र अलोकतान्त्रिक प्रवृत्ति बढ्दै गएको टिप्पणी गरे। उनले पार्टीका लागि वर्षौं संघर्ष गरेका र आफ्नो जीवन समर्पण गरेका कार्यकर्तालाई संगठनबाट बाहिर धकेल्ने काम उचित नभएको बताए।

उनका अनुसार, पहिले नै नवीकरण गरिसकेका सदस्यलाई पुनः अद्यावधिकको दबाब दिएर सदस्यता खारेज गर्ने निर्णयले पार्टीभित्र असन्तोष सिर्जना गरेको छ। यस्तो कदमले कांग्रेसका शुभेच्छुक, समर्थक र कार्यकर्तालाई निराश बनाएको उनको भनाइ छ। ‘कांग्रेस कुनै व्यक्तिको निजी सम्पत्ति वा बपौती होइन,’ शाहीले भने, ‘पार्टी कसैको इच्छा, दबाब वा मनपरी शैलीमा चल्न सक्दैन। लोकतन्त्रमा फरक विचार राख्ने, नेतृत्वलाई प्रश्न गर्ने र आफ्नो धारणा व्यक्त गर्ने अधिकार सबैलाई हुन्छ।’ उनले फरक मत राख्ने कार्यकर्तालाई निषेध गर्ने वा सदस्यता खोस्ने चेतावनी दिनु लोकतान्त्रिक मूल्यविपरीत भएको दाबी गरे। पार्टीभित्र विचारको विविधतालाई सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले असहमतिलाई दमन गर्ने प्रवृत्तिले संगठनलाई कमजोर बनाउने बताए।

शाहीले सदस्यता सम्बन्धी विवादका कारण आफूलाई अन्यायमा परेको महसुस गर्ने कार्यकर्तालाई निराश नहुन आग्रह पनि गरेका छन्। उनले कांग्रेसभित्रै बसेर अधिकार र न्यायका लागि संघर्ष गर्नुपर्ने धारणा व्यक्त गरे। साथै उनले पार्टीका नेताहरूलाई अन्ध समर्थन नगर्न र आवश्यक परे नेतृत्वलाई प्रश्न गर्न कार्यकर्तालाई आग्रह गरे। फरक विचार राख्नु लोकतान्त्रिक संस्कृतिको अभिन्न हिस्सा भएको उल्लेख गर्दै उनले त्यसलाई सम्मान गर्नुपर्ने बताए।

Back To Top
Modern Footer Design