काठमाडौं । निहारिका राजपुत र बिनु यादवले सिंहदरबारको दक्षिण गेटअगाडि धर्ना दिँदै आफ्नो मागप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
उनीहरूले गृहमन्त्री सुदन गुरुङलाई आफ्ना समस्या सुनाउन खोज्दा भेट्न नपाएको र प्रवेशमा अवरोध गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चुनाव चिह्न ‘घण्टी’ बजाएर प्रतीकात्मक विरोध जनाए।
प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै निहारिका राजपुतले आफू कठिन अवस्थामा हुँदा पत्रकार तथा मेयरका रूपमा साथ दिएका रवि लामिछाने र बालेन्द्र शाह अहिले नेतृत्वको भूमिकामा पुगेपछि आफ्नो मुद्दामा मौन बसेको आरोप लगाइन्।
उनीहरूका अनुसार सिंहदरबार प्रवेशका लागि आवश्यक पास हुँदाहुँदै पनि प्रहरीले भित्र जान नदिई करिब चार घण्टासम्म बाहिरै रोक्यो। धर्नाका क्रममा प्रहरीसँग धकेलाधकेल हुँदा कपडा च्यातिएको र सामान्य शारीरिक चोट लागेको उनीहरूको दाबी छ।
निहारिकाले बलात्कारपछि जन्मिएको आफ्नो छोराको डीएनए परीक्षण, त्यसपछि भएको मिलापत्र विवाह र वैवाहिक जीवनमा भोग्नुपरेको घरेलु हिंसाको विषयमा अझै न्याय नपाएको बताइन्। नयाँ सरकारसँग न्याय र निष्पक्ष अनुसन्धानको अपेक्षा गरे पनि त्यसअनुसारको पहल नभएको भन्दै उनले निराशा व्यक्त गरिन्।
उनीहरूले गृहमन्त्रीले आफ्ना कुरा नसुनी पाँच वर्षीय बालकसमेतसँगै हुँदा बेवास्ता गरेको आरोप लगाउँदै आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।
