ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

पर्वत । पर्वतको कुश्मा नगरपालिका–९ मा शनिबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार दिउँसो करिब साढे २ बजे दोबिल्ला–फलेवास सडकखण्डअन्तर्गत एकोहोरोपाखामा दुर्घटना भएको हो। कुश्माबाट साइकल चोकतर्फ जाँदै गरेको ग १ त ७२७३ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्याक्टर चालक कुश्मा नगरपालिका–७ का २८ वर्षीय सुजन नेपाली र ट्याक्टरमा सवार कुश्मा नगरपालिका–९ साइकल चोकका १४ वर्षीय शिशिर लामिछानेको मृत्यु भएको हो। दुवै जनालाई गम्भीर चोट लागेपछि उपचारका लागि प्रदेश अस्पताल पर्वत लगिएको थियो। तर, अस्पताल पुर्‍याएपछि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। दुर्घटनामा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१७ बिरौटामा बस्दै आएका २२ वर्षीय उदय सापकोटा घाइते भएका छन्। उनको दुवै गोडामा चोट लागेको छ। अवस्था सामान्य रहेका सापकोटाको प्रदेश अस्पताल पर्वतमा उपचार भइरहेको छ।

Back To Top
Modern Footer Design