आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत स्थानभन्दा केही माथि नेपालको तराई क्षेत्र आसपास र पूर्वतर्फ औसत स्थानकै हाराहारीमा रहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। अधिकांश हिमाली, पहाडी तथा तराई भू–भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा केही स्थानमा वर्षासँगै हिमपात हुन सक्ने अनुमान गरिएको छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति पनि देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहने अनुमान छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। त्यस्तै, कोशी र सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी क्षेत्र तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी एवं तराईका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। विशेषगरी कोशी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र नदी कटानको जोखिम बढ्न सक्ने भन्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको छ।

Back To Top
Modern Footer Design