काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीको संख्या ठूलो र चिन्ताजनक रहेको बताएका छन्।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा कारागार तथा हिरासत व्यवस्थापन र फरार कैदीबन्दीको अवस्थाबारे जानकारी दिँदै उनले विभिन्न कारागारबाट फरार भएका १३ हजार ५८९ जनामध्ये तीन हजारभन्दा बढी अझै पक्राउ पर्न बाँकी रहेको बताए। उनका अनुसार जेनजी आन्दोलनका क्रममा फरार भएका ६८२ जना पनि हालसम्म पक्राउ पर्न सकेका छैनन्। फरार कैदीबन्दीमध्ये केही स्वदेशमै र केही विदेशमा रहेको उनले जानकारी दिए। ‘कारागारबाट फरार भएकाहरूको संख्या ठूलो छ। हामीले कारागारमा राखेका कैदीको संख्याभन्दा फरार हुनेको संख्या ठूलो देखिन्छ,’ उनले भने। आईजीपी कार्कीले फरार व्यक्ति तथा अभियुक्तको खोजी प्रभावकारी बनाउन विभिन्न सरकारी निकायमा रहेका मुद्दा र अभियुक्तसम्बन्धी विवरण प्रहरीको केन्द्रीय अभिलेख प्रणाली (सीआरएस) मा एकीकृत गर्नुपर्ने आवश्यकता औँल्याए।
वन, सम्पत्ति शुद्धीकरण, राजस्व, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र वैदेशिक रोजगार विभागलगायतका निकायले अघि बढाएका मुद्दाको विवरण समयमै प्रहरीको प्रणालीमा नआउँदा अनुसन्धान तथा खोजी कार्यमा समस्या हुने गरेको उनको भनाइ थियो। उनले नेपाल प्रहरीको सीआरएसलाई केन्द्रीय प्रणालीका रूपमा विकास गर्ने तयारी रहे पनि अन्य निकायबाट आवश्यक सूचना समयमै प्राप्त हुन नसकेको बताए। सबै सरकारी निकायमा रहेका मुद्दा तथा अभियुक्तको विवरण एउटै प्रणालीमा जोड्नुपर्नेमा उनले जोड दिए। बैठकमा सप्तरी, सिरहा र बाँकेका कारागारमा भएका घटनापछि कैदीबन्दीलाई स्थानान्तरण गर्न सुरक्षाकर्मीले अपनाउनुपरेका सुरक्षा उपायबारे पनि छलफल भएको थियो। आईजीपी कार्कीले कारागार तथा हिरासतको अवस्था अनुगमनपछि आवश्यक निर्णय तत्काल लिन सके सम्भावित क्षति तथा आपराधिक गतिविधि नियन्त्रण गर्न सहज हुने बताए।
