काठमाडौं । देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको छ।
मनसुनको न्यून चापीय रेखा पनि सरदर स्थान आसपास रहेकाले आज अधिकांश भूभागमा मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी प्रदेशमा धेरैजसो क्षेत्रमा बादल लागेको छ भने अन्य प्रदेशमा आंशिक बदली रहेको छ। कोशीका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। कोशी र बागमतीका पहाडी भूभागका केही स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्र, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग तथा लुम्बिनीका पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आज राति पनि देशभर मौसम बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङ्सहित वर्षा वा हिमपातको सम्भावना छ। कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी आसपास तथा अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
