नेप्से परिसूचक बढ्यो, कारोबार रकम पनि उकालो

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ। कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ।

बिहीबार नेप्से परिसूचक ४.६६ अंकले उकालो लाग्दै २५४२.७७ विन्दुमा पुगेर बन्द भएको हो। कारोबार रकम बुधबारको तुलनामा ५२ करोड रुपैयाँले बढेको छ। बुधबार २ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ३ अर्ब ४६ करोड रुपैयाँको सेयर कारोबार भयो।

यस दिन ३४६ वटा धितोपत्रका १ करोड २१ लाख ६३ हजार ७६३ कित्ता सेयर किनबेच भएका छन्। कारोबारमा आएका कम्पनीमध्ये १४५ वटाको सेयर मूल्य बढ्दा १२३ वटाको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो। बिहीबार विन नेपाल लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ८.७६ प्रतिशतले बढेको छ। कम्पनीको प्रतिकित्ता मूल्य १ हजार ५५ रुपैयाँ पुगेको छ। त्यस्तै, चिरख्वा हाइड्रोपावरको सेयर मूल्य ८.५६ प्रतिशत बढेर ६१५ रुपैयाँ कायम भएको छ।

यता पियोर इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै १३.३३ प्रतिशतले घटेको छ। कम्पनीको प्रतिकित्ता मूल्य ६६२ रुपैयाँमा झरेको छ। आत्मनिर्भर लघुवित्तको मूल्य पनि ६.१० प्रतिशत घटेर प्रतिकित्ता ५ हजार २३ रुपैयाँ ५० पैसा कायम भएको छ। कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अगाडि रह्यो। कम्पनीको प्रतिकित्ता २ हजार ८३० रुपैयाँका दरले ४० करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ५.०१ प्रतिशत बढेको हो।

त्यस्तै, दोस्रो धेरै कारोबार सानिमा मिडिल तमोर हाइड्रोपावरको भएको छ। कम्पनीको १३ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ५०३ रुपैयाँ रहेको छ। बिहीबार कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूह घटेका छन् भने बाँकी समूह उकालो लागेका छन्। लगानी समूहको परिसूचक सबैभन्दा धेरै १.२६ प्रतिशतले बढेको छ।

Back To Top
Modern Footer Design