खोलाले मोटरसाइकल बगाउँदा पाल्पाका दुई युवाको मृत्यु

पाल्पा । खोलाले मोटरसाइकल बगाउँदा पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका दुई युवाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार रैनादेवी छहरा गाउँपालिका–७ जोगदमारका ३२ वर्षीय विपिन पोखरेल र २३ वर्षीय प्रवीन पुनको खोलाले बगाएर मृत्यु भएको हो। उनीहरू लु २९ प ९८७६ नम्बरको मोटरसाइकलमा रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीतर्फ जाँदै थिए। सोमबार साँझ करिब ६ बजेदेखि उनीहरू परिवार तथा आफन्तको सम्पर्कमा आएका थिएनन्।

दुवैजना सम्पर्कविहीन भएपछि आफन्तले बुधबार दिउँसो अस्थायी प्रहरी पोस्ट बेलबासमा खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली परिचालन गरी खोजी सुरु गरिएको थियो। खोजीका क्रममा रैनादेवी छहरा गाउँपालिका–७ डुम्रेवासस्थित सडकबाट करिब पाँच फिट तल ठाडोखोलामा उनीहरू चढेको मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ।

त्यसपछि थप खोजी गर्दा दुवैजनाको शव खोलाले बगाएर रूपन्देहीको सैनामैना नगरपालिका–१०, मोवाघारीस्थित कञ्चन खोलामा पुर्‍याएको अवस्थामा फेला परेको हो। प्रहरीले घटनास्थलमा आवश्यक मुचुल्का तयार गरी शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाएको जनाएको छ। घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

Back To Top
Modern Footer Design