रसुवा बाढीको असर : बंगलादेशतर्फको ४० मेगावाट विद्युत् निर्यात रोकियो, भारततर्फ पनि कटौती

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण जलविद्युत् आयोजनामा क्षति पुगेपछि नेपालबाट बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात रोकिएको छ।

बाढीका कारण भारततर्फ हुँदै आएको विद्युत् निर्यातसमेत घटाउनुपरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। बंगलादेशमा विद्युत् बिक्रीका लागि सम्झौता भएका चिलिमे र त्रिशूली जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍याएपछि त्यहाँबाट उत्पादन हुने विद्युत् बंगलादेश पठाउन नसकिएको हो। यी दुई आयोजनाबाट उत्पादन हुने ४० मेगावाट विद्युत् नेपालले बंगलादेश निर्यात गर्दै आएको थियो। नेपालले भारत र बंगलादेशतर्फ गरी करिब १ हजार २ सय मेगावाट विद्युत् निर्यातका लागि अनुमति पाएको थियो। तर, रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍याएसँगै उत्पादन घटेपछि निर्यातका लागि उपलब्ध विद्युत् समेत कम भएको छ।

भोटेकोशी बाढीबाट प्राधिकरण तथा निजी क्षेत्रका गरी १२ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। सञ्चालनमा रहेका आयोजनासँगै निर्माणाधीन आयोजनाका संरचनासमेत प्रभावित भएका छन्। उत्पादनमा आएको गिरावटको प्रत्यक्ष असर विद्युत् निर्यातमा परेको प्राधिकरणको भनाइ छ। प्रभावित आयोजनाबाट पुनः नियमित उत्पादन सुरु नभएसम्म भारततर्फको निर्यातमा समेत दबाब कायम रहने देखिएको छ।

उत्पादनसँगै उद्धारमा पनि कठिनाइ

बाढीले जलविद्युत् आयोजनाका संरचना क्षतिग्रस्त बनाएसँगै त्यहाँ कार्यरत श्रमिक तथा कर्मचारीको खोज तथा उद्धार कार्यसमेत चुनौतीपूर्ण बनेको छ। लाङटाङ जलविद्युत् आयोजनामा विदेशी प्राविधिकसहित २५ जनाको संयुक्त टोलीले सुरुङभित्र प्रवेश गरेर खोजी गरिरहेको छ। टोली करिब १५० मिटर सुरुङभित्र पुगेर दुई स्थानमा साना होल बनाई सम्भावित रूपमा फसेका व्यक्तिको अवस्था पत्ता लगाउने प्रयासमा जुटेको छ। चिलिमे हाइड्रोपावरमा पनि विदेशी प्राविधिकसहितको संयुक्त टोली परिचालन गरी खोज तथा उद्धार भइरहेको छ।

माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा ९३ जनाको संयुक्त टोली खोज तथा उद्धारमा खटिएको छ। टोलीले पाँचवटा एक्स्काभेटर प्रयोग गरेर सुरुङको आउटलेटमा थुप्रिएको लेदो, माटो तथा अन्य अवरोध हटाउने काम गरिरहेको छ। रातिसम्म काम गर्ने क्रममा सुरुङको आउटलेटमा रहेको प्वाल साँघुरो भएपछि क्राउन क्षेत्रमा ब्लास्टिङ गरेर प्वाल ठूलो बनाउने र सफा गर्ने कामसमेत गरिएको छ। सम्भावित रूपमा सुरुङभित्र फसेका व्यक्तिसम्म पुग्न आउटलेट खुलाउने कार्यलाई प्राथमिकता दिइएको छ।

माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा पनि नेपाली सेना, गैरसैनिक जनशक्ति र आयोजना अधिकारी सम्मिलित टोली परिचालन गरिएको छ। सेनाका ८९ जना, तीन गैरसैनिक कर्मचारी तथा आयोजना प्रबन्ध निर्देशकसहितको टोलीले आयोजना कार्यालय र आवास क्षेत्रसम्म पुग्ने बाटो पहिचान तथा खोल्ने काम गरिरहेको छ। पहिरो र लेदोका कारण अवरुद्ध सडक तथा क्षेत्रमा एक्स्काभेटर र बुर्कटको प्रयोग गरी बाटो खुलाउने तथा माटो हटाउने काम जारी छ।

भोटेकोशी बाढीबाट प्रभावित १२ जलविद्युत् आयोजनामा कार्यरत नेपाली तथा विदेशी कामदारमध्ये ठूलो संख्या अझै सम्पर्कविहीन रहेको जनाइएको छ। प्रभावित आयोजनामा कार्यरत ९७४ जना अझै सम्पर्कमा आउन सकेका छैनन्। बाढी आएको एक साताभन्दा बढी समय बितिसक्दा पनि सुरुङ, भूमिगत विद्युत्गृह, कार्यालय तथा आवास क्षेत्रमा रहेका वा सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे यकिन हुन सकेको छैन। नेपाली सेनाको नेतृत्वमा खोज तथा उद्धार टोली परिचालन गरिए पनि कठिन भौगोलिक अवस्था, निरन्तरको पहिरो, लेदो तथा सुरुङभित्र जमेको माटोका कारण उद्धार कार्य थप जोखिमपूर्ण र जटिल बनेको छ।

Back To Top
Modern Footer Design