बाँके । भोटेकोशी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि बाँकेका निजी विद्यालय तथा अस्पतालले एक करोड २५ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन्।
निजी तथा आवासीय विद्यालयको छाता संस्था प्याब्सन बाँकेमा आबद्ध विद्यालयले ६५ लाख रुपैयाँ तथा जिल्लाका निजी अस्पतालले ६० लाख ७८ हजार ५ सय १३ रुपैयाँ सहयोग गरेका हुन्। प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यका अनुसार जिल्लाका ७७ निजी तथा आवासीय विद्यालयबाट सङ्कलित रकममध्ये ५३ लाख ४१ हजार ४०६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी प्रदान गरिएको छ। अस्पतालहरूले पनि सोही कोषमा ६० लाख ७८ हजार ५१३ रुपैयाँ सहयोग गरेका छन्।
अस्पतालतर्फ नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्स प्रालि नेपालगञ्जले २५–२५ लाख रुपैयाँ सहयोग गरेका छन्। त्यस्तै, फत्तेबाल आँखा अस्पतालले ५ लाख ११ हजार, एचसीआरसी अस्पतालले २ लाख ५० हजार, न्यूरो अस्पतालले १ लाख १६ हजार ५१३, सागर अस्पतालले १ लाख १ हजार र लाइफ लाइन जनरल अस्पतालले १ लाख रुपैयाँ सहयोग गरेका छन्। लाइफ लाइन जनरल अस्पताल नेपालगञ्जका सञ्चालक डा. प्रतीक श्रेष्ठले अस्पतालहरूबाट संकलित रकम बाढीपीडितको राहत तथा उद्धारका लागि सहयोग गरिएको जानकारी दिए।
