सिन्धुली । सिन्धुलीको सुनकोशी नदीमा यात्रुवाहक टाटा सुमो खस्दा तीन जनाको मृत्यु भएको छ भने चालकसहित चार जना घाइते भएका छन्। दुर्घटनामा अन्य तीन जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो आइतबार राति करिब २ः३० बजे फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट अनियन्त्रित भई करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो। दुर्घटनामा मृत्यु हुने तीनै जना महिला रहेको प्रहरीले जनाएको छ। उनीहरूको शव फेला परे पनि पहिचान खुल्न सकेको छैन।
दुर्घटनामा घाइते भएका चालक ओखलढुङ्गाका २९ वर्षीय आशिष विष्ट, खोटाङ दिक्तेलका ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल–१ का १३ वर्षीय अंकित विकलाई उद्धार गरी उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा उपचारका लागि पठाइएको छ। प्रहरीका अनुसार घाइते चारै जनाको अवस्था गम्भीर छ। घटनापछि प्रहरी निरीक्षकको नेतृत्वमा इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको टोलीले बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी राखेको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धानसमेत गरिरहेको जनाएको छ।
