एकादशीमा पनि दसैँको टीका लगाउने परम्परा, कोजाग्रत पूर्णिमासम्म चल्ने

काठमाडौँ । बडादसैँको टीका र जमरा लगाउने क्रम विजयादशमीपछि पनि जारी रहेको छ। नेपाली समाजमा आज एकादशीका दिन पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा कायम छ।

दसैँमा टाढा रहेका आफन्तकहाँ दशमीकै दिन पुग्न नसकेका व्यक्तिहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने चलन रहेको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादसैँमा विभिन्न स्थान र समुदायअनुसार टीका लगाउने परम्परामा भिन्नता पाइन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य वेदमणि भट्टराईका अनुसार कतिपय स्थानमा विजयादशमीको दिन मात्रै टीका लगाउने चलन छ भने पूर्वी तथा मध्य नेपालका विभिन्न क्षेत्रमा कोजाग्रत पूर्णिमासम्म टीका लगाइदिने परम्परा रहेको छ। पश्चिम नेपालका कतिपय ठाउँमा भने दुर्गा विसर्जनपछि एक दिन मात्रै टीका ग्रहण गर्ने चलन छ।

उनका अनुसार नेपाली समाजमा स्थान, परिवेश र परम्पराअनुसार फरक–फरक चलन प्रचलित रहेकाले यस्ता परम्परालाई अन्यथा लिनु हुँदैन। यसैबीच, आज आश्विन शुक्ल एकादशी अर्थात् पापाङ्कुशा एकादशी पनि मनाइँदैछ। धार्मिक मान्यताअनुसार यस दिन व्रत तथा पूजा आराधना गर्दा विगतमा जानी–नजानी गरिएका पापबाट मुक्ति मिल्ने विश्वास गरिन्छ। यसरी बडादसैँको धार्मिक तथा सांस्कृतिक महत्त्वसँगै पारिवारिक भेटघाट, आशीर्वाद आदानप्रदान र परम्पराको निरन्तरताले नेपाली समाजमा दसैँको उत्सवलाई पूर्णिमासम्म जीवन्त बनाउने गरेको छ।

Back To Top
Modern Footer Design