काठमाडौँ । चीन र रुसले युरेसिया क्षेत्रमा शान्ति तथा स्थिरता कायम राख्न बाह्य हस्तक्षेपको विरोध गर्दै एकअर्काको राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्।
रुस भ्रमणमा रहेका चिनियाँ प्रधानमन्त्री ली छ्याङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरेपछि दुवै देशले संयुक्त वक्तव्य जारी गरेका हुन्। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार संयुक्त वक्तव्यमा बाह्य हस्तक्षेपलाई युरेसिया क्षेत्रमा स्थिरता कमजोर बनाउने प्रमुख चुनौतीका रूपमा उल्लेख गरिएको छ। साथै, युरेसियाली एकताको प्रक्रियामा अवरोध पुर्याउने उद्देश्यले बल प्रयोग गर्ने वा बाह्य दबाब सिर्जना गर्ने गतिविधिको दुवै देशले विरोध गर्ने जनाइएको छ।
चीनले रुसको राष्ट्रिय सुरक्षा, स्थिरता, एकता, विकास, समृद्धि, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षण गर्ने प्रयासलाई समर्थन गर्ने जनाएको छ। रुसको आन्तरिक मामिलामा बाह्य शक्तिबाट हुने हस्तक्षेपको समेत चीनले विरोध गरेको छ। यसैबीच, संयुक्त वक्तव्यमा रुसी राष्ट्रपति पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुन सक्ने सम्भावित त्रिपक्षीय बैठकबारे कुनै उल्लेख गरिएको छैन। क्रेमलिनका सहयोगी युरी उशाकोभले बुधबार पत्रकारहरूसँग चीन, रुस र अमेरिकाका नेताहरूबीच पहिलो त्रिपक्षीय बैठकको तयारी भइरहेको बताएका थिए। उनका अनुसार आगामी महिना चीनको सेन्जेनमा आयोजना हुने एसिया–प्रशान्त शिखर सम्मेलनका क्रममा उक्त बैठक गराउने उद्देश्य राखिएको छ।
