खोटाङमा डेंगु र निमोनियाको जटिलताबाट १५ महिने शिशुको मृत्यु

खोटाङ । खोटाङमा डेंगु संक्रमणसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि १५ महिने शिशुको मृत्यु भएको छ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–७, टेम्माकी रियाना दाहालको जिल्ला अस्पताल दिक्तेलमा उपचारका क्रममा मृत्यु भएको हो। अत्यधिक ज्वरो आएपछि शिशुलाई कात्तिक ४ गते बिहान जिल्ला अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा परीक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएको र त्यसपछि श्वासप्रश्वाससम्बन्धी समस्या थपिएपछि स्वास्थ्य अवस्था जटिल बनेको जिल्ला अस्पताल खोटाङका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पुष्कल राईले जानकारी दिएका छन्।

शिशुको अवस्था गम्भीर बन्दै गएपछि अस्पतालले बिहान ३ बजे अन्यत्र उपचारका लागि रेफर गरेको थियो। तर, दसैँको चहलपहलका कारण तत्कालै सवारीसाधनको व्यवस्था गर्न आफन्तलाई कठिनाइ भएको थियो। अन्यत्र लैजानका लागि गाडीको व्यवस्था गरी तयारी गरिरहेकै अवस्थामा शिशुको मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रकाश बुढाथोकीले बताएका छन्।

Back To Top
Modern Footer Design