विराटनगर । मोरङको विराटनगरमा लामो समयदेखि व्यवसाय गर्दै आएका ६५ वर्षीय लालजीप्रसाद गुप्ता मृत फेला परेका छन्।
विराटनगर महानगरपालिका–६ का गुप्ता सुनसरीको बर्जु गाउँपालिका–२, भीमपुरस्थित केशलिया खोलाको किनारमा आइतबार बिहान मृत अवस्थामा भेटिएका हुन्। भारतीय नागरिक गुप्ताले विगत ३० वर्षदेखि विराटनगरको महावीर रोडमा ‘लाल ब्याट्री पसल’ सञ्चालन गर्दै आएका थिए। स्थानीयले खोलाको किनारमा बोराले बेरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले हत्या गरेर शव फालिएको हुन सक्ने आशंका गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चन्द्र खड्काका अनुसार घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ। प्रहरीले घटनास्थलमा तालिमप्राप्त कुकुरसहित प्राविधिक टोली परिचालन गरी आवश्यक प्रमाण संकलन गरेको जनाएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान तथा मृत्युको कारण खुल्न बाँकी छ।
