काठमाडौं । ‘नेपाली राष्ट्रवादलाई एन्टी इन्डियनिज्मसँग जोड्ने युग सकिएको’ भन्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा व्यक्त गरेको अभिव्यक्तिप्रति नेकपा एमालेले प्रश्न उठाएको छ ।
नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको र यसको आफ्नै स्वतन्त्र परराष्ट्र नीति रहेको उल्लेख गर्दै एमाले प्रचारप्रसार विभाग प्रमुख निरज आचार्यले अर्थमन्त्री डा। वाग्लेले भारत भ्रमणका क्रममा नेपाली राष्ट्रवादबारे व्यक्त गरेको धारणामाथि प्रश्न उठाएका हुन् । नेपाल सन् १९५५ देखि संयुक्त राष्ट्रसंघको सदस्य रहँदै आएको छ । नेपालको परराष्ट्र नीति सार्वभौम समानता, पारस्परिक सम्मान र राष्ट्रिय हितमा आधारित छ । यी आधारभूत तथ्यबारे अर्थमन्त्री डा। स्वर्णिम वाग्ले अनभिज्ञ छन् भन्ने नलागेको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका हुन् ।
‘नेपालको राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने पुरानो भाष्य समाप्त भएको अभिव्यक्ति भारत भ्रमणका क्रममा दिनुको राजनीतिक सन्देश र कूटनीतिक औचित्यबारे प्रश्न उठाउन उठ्छन्,’ आचार्यले लेखेका छन्, ‘नेपालको राष्ट्रवाद भारतको विरोधमा मात्र आधारित छैन ।’ राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्नु राष्ट्रवादको अभिन्न अंग भएको उल्लेख गर्दै उनी थप्छन्, ‘त्यसैले, भारतसँगको सम्बन्धलाई सुदृढ बनाउने नाममा राष्ट्रिय हित र स्वाभिमानसँग सम्बन्धित प्रश्नलाई गौण बनाउनु उचित हुँदैन ।’
अर्थमन्त्री डा। वाग्ले हाल भारत भ्रमणमा छन् । भ्रमणका क्रममा भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै उनले नेपाली राष्ट्रवादलाई भारतको विरोधका रूपमा बुझ्ने युगको अन्त्य भएको बताएका थिए । नयाँ पुस्ताको आकांक्षा आर्थिक समृद्धि र सुशासन रहेको स्पष्ट पार्दै नेपालको परराष्ट्र नीति सकारात्मक दिशामा अघि बढेको बताएका हुन् ।
विगतमा दशकौंसम्म निश्चित वैचारिक प्रशिक्षणका कारण नेपाली राष्ट्रवादलाई भारत–विरोधसँग जोडेर हेर्ने भाष्य निर्माण भएको उनले बताएका छन् ।
‘तर, हाम्रो पुस्ता फरक छ । हामीले विश्व देखेका छौं, हाम्रा आकांक्षाहरू आर्थिक छन् । हामी राम्रो रोजगारी, सुशासन र असल छिमेकी सम्बन्ध चाहन्छौं,’ डा। वाग्लेले भनेका छन्, ‘त्यसैले म निकै खुसीका साथ भन्न सक्छु कि नेपाली राष्ट्रवादलाई ‘एन्टी–इन्डियनिज्म’ सँग जोड्ने त्यो युग अब सकियो ।’
अर्थमन्त्री वाग्लेको यस्तो अभिव्यक्तिप्रति एमालेले प्रश्न उठाएको हो । एमालेका प्रचारप्रसार विभाग प्रमुख आचार्यका अनुसार, नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक, भौगोलिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक आधारमा स्थापित छ । औपचारिक कूटनीतिक सम्बन्धदेखि अहिलेसम्म दुवै देशबीच सहकार्य र संवाद निरन्तर रहँदै आएको छ । भविष्यमा पनि यो सम्बन्ध पारस्परिक सम्मान, विश्वास, समानता र साझा हितका आधारमा अघि बढ्नुपर्ने आचार्यले बताएका छन् ।
उनी लेख्छन्, ‘छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्नु नेपालको आवश्यकता हो, तर त्यसका लागि आफ्ना राष्ट्रिय सरोकार र दृष्टिकोण प्रस्तुत गर्न नसक्नु र अतिरिक्त चाकडी आवश्यक छैन ।’ कूटनीति भनेको अर्को देशको आलोचना गर्नु वा प्रशंसा गर्नु मात्र नभएको उल्लेख गर्दै उनले आफ्नो राष्ट्रिय हितको रक्षा गर्दै पारस्परिक लाभका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।
उनका नजरमा भारतसँग नेपालको व्यापार, पारवहन, ऊर्जा, लगानी र कनेक्टिभिटीका विषयमा सहकार्य आवश्यक छ । सीमा विवादलगायत द्वीपक्षीय सरोकारका विषयमा नेपालको अडान स्पष्ट रूपमा प्रस्तुत गर्नु पनि उत्तिकै आवश्यक छ । ‘मित्रराष्ट्रसँग असहमति राख्दैमा सम्बन्ध बिग्रन्छ भन्ने सोच र सम्बन्ध सुधार्ने नाममा सबै असहमतिलाई पन्छ्याएर “तुम सरणम’ गर्ने धारणा दुवै अतिवादी सोच हुन्,’ आचार्य सामाजिक सञ्जालमा लेख्छन्, ‘स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने राष्ट्रले आफ्नो धारणा आफ्नै राष्ट्रिय हित र प्राथमिकताका आधारमा व्यक्त गर्नुपर्छ । सो मुलुकमा पुगेर आफ्नै देशको राष्ट्रवादी दृष्टिकोणलाई पुरानो वा असान्दर्भिक ठहर्याउने अभिव्यक्तिले कस्तो सन्देश दिन्छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ ।’
उनका अनुसार, नेपाल र भारतबीचको सम्बन्ध न क्षणिक राजनीतिक अभिव्यक्तिले मात्र निर्माण भएको हो, न कुनै एक नेताको दृष्टिकोणले मात्र निर्धारण हुनेवाला छ । ‘यो दुई देशका जनता, साझा इतिहास र दीर्घकालीन हितसँग जोडिएको सम्बन्ध हो’ आचार्य भन्छन्, ‘त्यसैले, अनावश्यक चाकडी वा उत्तेजना दुवैबाट मुक्त हुँदै पारस्परिक सम्मान, स्पष्ट राष्ट्रिय अडान र व्यावहारिक सहकार्यमा आधारित कूटनीति अवलम्बन गर्नु नै नेपालको हितमा हुन्छ ।’
