धनुषा । धनुषाको ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आयोजनाको टेन्डरसम्बन्धी कागजातमा मन्त्रालयबाट हस्ताक्षर भइसकेको र आवश्यक प्रक्रियाका लागि सम्बन्धित निकायमा पठाइएको जानकारी दिएकी छन्। आइतबार प्रस्तावित निर्माणस्थलको निरीक्षणका क्रममा मन्त्री मेहताले आवश्यक प्रक्रिया पूरा भएपछि टेन्डर आह्वान गरिने र त्यसपछि निर्माण कार्य सुरु हुने बताइन्। उनले ट्रमा सेन्टर सरकारको बहुवर्षीय योजनामा समावेश भइसकेकाले आयोजना निर्माण हुनेमा अब अन्योल नरहेको स्पष्ट पारिन्।
निर्माणस्थलको अवस्थाबारे निरीक्षणपछि उनले आवश्यक तयारी उपयुक्त देखिएको उल्लेख गर्दै छिट्टै शिलान्यास हुने विश्वास व्यक्त गरिन्। यता, स्थानीयवासीले भने लामो समयदेखि ट्रमा सेन्टर निर्माणको आश्वासन पाए पनि काम सुरु नभएकामा असन्तुष्टि जनाउँदै आएका छन्। आयोजना कार्यान्वयनमा हुने ढिलाइका कारण उनीहरू निर्माण प्रक्रिया अघि बढ्नेमा आशङ्कित छन्।
निरीक्षणमा सहभागी प्रतिनिधिसभा सदस्य राजकिशोर महतोले पनि आश्वासनभन्दा निर्माण कार्यको वास्तविक सुरुआत महत्त्वपूर्ण हुने बताए। उनले भवन निर्माणको काम छिटो सुरु गरी स्थानीयवासीको विश्वास जित्न मन्त्रीको ध्यानाकर्षण गराए। निरीक्षण कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहित सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।
