सप्तकोशीमा जेटबोट दुर्घटना ,बालिकासहित तीन जनाको मृत्यु, एक घाइते

विराटनगर । भोजपुरबाट सुनसरीको चतरातर्फ आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा एक बालिका, एक महिला र एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ। एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नारायण रञ्जितकारका अनुसार अरुण र दूधकोशी नदीको त्रिवेणी क्षेत्रनजिक जेटबोटको इन्जिनमा समस्या आएपछि बग्ने क्रममा दुर्घटना भएको हो। दुर्घटनामा ज्यान गुमाउनेहरूको पहिचान खुल्न सकेको छैन। प्रहरीका अनुसार उक्त जेटबोटमा १६ जना सवार रहेको बताइएको छ। तर, १२ जनाले मात्रै टिकट काटेको खुलेको छ। दुर्घटनापछि पाँच जना सकुशल घर फर्किसकेका छन् भने घाइते एक जनाको चतरा अस्पतालमा उपचार भइरहेको छ।

जेटबोटका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको छ। मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। गत असारदेखि बन्द रहेको जेटबोट सेवा कात्तिक १ गतेदेखि पुनः सञ्चालनमा आएको थियो। सेवा सुरु भएको एक सातामै भएको दुर्घटनाले नदीमा सञ्चालन हुने जलयातायातको सुरक्षामाथि प्रश्न उठाएको छ।

Back To Top
Modern Footer Design