काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले निरन्तरता पाएको छ। शुक्रबार सुनको भाउ एकैदिन प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँ थियो। यसअघि बिहीबार पनि सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको थियो। गत शुक्रबारदेखि नै सुनको मूल्य ओरालो लागिरहेको छ। पछिल्लो गिरावटसँगै सुनको भाउमा ठूलो अन्तर देखिएको छ।
यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ३ हजार ११० रुपैयाँमा झरेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला २२५ रुपैयाँको कमी हो। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घट्ने क्रममा रहेको छ। शुक्रबार सुन प्रतिऔंस ३ हजार ५३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
