काठमाडौं । नेपाली बजारमा लगातार आठ दिनदेखि घटिरहेको सुनको मूल्यले सोमबार भने पुनः उकालो यात्रा तय गरेको छ। आइतबारसम्म निरन्तर ओरालो लागेको सुनको भाउ सोमबार एकैदिन प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँ कायम थियो। आइतबार मात्रै सुनको भाउ प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ३ हजार १ सय १० रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रुपैयाँको वृद्धि हो। यता अन्तर्राष्ट्रिय बजारमा पनि सुन प्रतिऔंस ३ हजार ६ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
