काठमाडौँ ।प्रधानमन्त्री बालेन शाहले लैङ्गिक हिंसा अन्त्यका लागि पीडितको सुरक्षा, दोषीमाथि कानुनी कारबाही र न्यायमा सहज पहुँच सुनिश्चित गर्न सबै सरोकारवालालाई आग्रह गरेका छन्।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सन्देश जारी गर्दै उनले हिंसाप्रति शून्य सहनशीलताको नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन्।प्रधानमन्त्री शाहले लैङ्गिक हिंसालाई मानवअधिकारमाथिको गम्भीर प्रहारका रूपमा व्याख्या गर्दै यसले समानता र न्यायमा आधारित समाज निर्माणमा अवरोध पुर्याइरहेको बताएका छन्। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाको बढी जोखिममा रहेको उल्लेख गर्दै उनले प्रविधिको विकाससँगै डिजिटल माध्यमबाट हुने हिंसालाई पनि गम्भीर चुनौतीका रूपमा लिनुपर्ने बताएका छन्।
हिंसा रोकथाम, पीडितको संरक्षण तथा दोषीलाई कानुनी दायरामा ल्याउन कानुन र संस्थागत संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ। सरकारले महिलाको सशक्तीकरण, बालिका शिक्षाको विस्तार तथा हिंसापीडितको संरक्षण र पुनःस्थापनालाई प्राथमिकतामा राखेको पनि उनले उल्लेख गरेका छन्।लैङ्गिक हिंसा नियन्त्रणका लागि सरकारी निकाय, नागरिक समाज र अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउँदै उनले तीनै तहका सरकारलाई समन्वयात्मक रूपमा काम गर्न आग्रह गरेका छन्।
विपद्का समयमा महिला तथा अन्य जोखिममा रहेका समुदायमाथि हिंसाको खतरा बढ्न सक्ने भन्दै प्रधानमन्त्री शाहले यस्ता अवस्थामा विशेष सतर्कता अपनाउनसमेत ध्यानाकर्षण गराएका छन्।हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष पनि विभिन्न कार्यक्रमसहित सुरु भएको छ।
