काठमाडौं । लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
राष्ट्रिय जेनजी नागरिक अभियानले उनको नियुक्ति गैरकानुनी तथा विधि र प्रक्रियाविपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेको हो। नागरिकतासम्बन्धी विवाद र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा कानुनी प्रक्रिया पूरा नगरी उनलाई नियुक्त गरिएको रिट निवेदनमा उल्लेख छ।
रिट दायर गर्नेहरूमा अभियानका संयोजक सुनिल सिंहसहित वीरजन विश्वकर्मा र सफलता बोगटी रहेका छन्। सरकारले गत असोज ३१ गते बौद्ध भिक्षुणी आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो। लुम्बिनी विकास कोष ऐनअनुसार उपाध्यक्षको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ। सरकारले गरेको उक्त नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट परेपछि अब यस विषयले कानुनी रूप लिएको छ।
