भारतको राजस्थानमा दुई छुट्टाछुट्टै सडक दुर्घटना, १२ जनाको मृत्यु, २३ घाइते

काठमाडौँ । भारतको राजस्थान राज्यमा भएका दुई अलग-अलग सडक दुर्घटनामा परी कम्तीमा १२ जनाको ज्यान गएको छ भने २३ जना घाइते भएका छन्।

प्रहरीका अनुसार कोटा जिल्लाको शम्भुपुरा गाउँनजिक तीव्र गतिमा रहेको यात्रुवाहक गाडी सडक किनारमा पार्किङ गरेर राखिएको ट्रकमा ठोक्किँदा एकै परिवारका नौ जनाको मृत्यु भएको हो। उक्त दुर्घटनामा अन्य आठ जना घाइते भएका छन्। राजस्थानको राजधानी जयपुरबाट करिब २५० किलोमिटर दक्षिणमा भएको दुर्घटनामा यात्रुवाहक गाडी नराम्ररी क्षतिग्रस्त भएको थियो। दुर्घटनापछि केही यात्रु गाडीभित्रै फसेका थिए। स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा घाइतेहरूको उद्धार गरिएको अधिकारीहरूले बताएका छन्।

यसैगरी, शनिबार साँझ जोधपुर जिल्लामा कार र यात्रुवाहक टेम्पो एकआपसमा ठोक्किँदा थप तीन जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा १५ जना घाइते भएका छन्। भारतमा सडक दुर्घटनाका कारण ठूलो संख्यामा मानिसले ज्यान गुमाउने गरेका छन्। सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्नु, सडकको कमजोर अवस्था र चालकको लापरबाहीलाई यस्ता दुर्घटनाका प्रमुख कारणका रूपमा लिने गरिएको छ।

Back To Top
Modern Footer Design