गोडैता नगरपालिकालाई नमुना नगरपालिका बनाउने संकल्पसहित रायको नगर प्रमुखमा उम्मेदवारी

सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टीका भाग्य नारायण रायले गोडैता नगरपालिकाको नगर प्रमुख पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।

रायले गोडैता नगरपालिकालाई सुशासन, पारदर्शिता, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, आधुनिक पूर्वाधार र सामाजिक सुधारको क्षेत्रमा नमुना नगरपालिका बनाउने संकल्पसहित आफू नगर प्रमुखको उम्मेदवारीका लागि अघि बढेको बताएका छन्।

उनले आफ्नो प्राथमिकता भाषणभन्दा काम, प्रचारभन्दा परिणाम र राजनीतिक पहुँचभन्दा जनताको पहुँच हुने उल्लेख गरेका छन्। सुशासन, पारदर्शिता र विकासलाई केन्द्रमा राख्दै गोडैताको समग्र विकासका लागि काम गर्ने उनको प्रतिबद्धता छ।

‘हाम्रो गोडैता, हाम्रो जिम्मेवारी’ भन्ने नारासहित रायले युवालाई भविष्य देख्ने वातावरण, किसानले उत्पादनको उचित मूल्य पाउने व्यवस्था, विद्यार्थीलाई गुणस्तरीय शिक्षा र बिरामीले सहज स्वास्थ्य सेवा पाउने गरी नगरपालिका निर्माण गर्ने लक्ष्य सार्वजनिक गरेका छन्।

रायले हरेक नागरिकले आफ्नो नगरपालिकाप्रति गर्व गर्न सक्ने वातावरण निर्माण गर्ने बताएका छन्। उनले जनताको साझा अधिकारका रूपमा गोडैताको विकासलाई अघि बढाउन सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।

Back To Top
Modern Footer Design