तेहरान । अमेरिकी सेनाले इरानको लारक द्वीपमा रहेका दुईवटा इरानी लन्चरलाई निशाना बनाएर आक्रमण गरेको छ।
गत जुलाईको अन्त्ययता इरानमाथि अमेरिकाले गरेको यो पहिलो सैन्य कारबाही भएको जनाइएको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम्) का प्रवक्ता कमाण्डर टिम हकिन्सका अनुसार इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) का बलले स्ट्रेट अफ होर्मुजमा रकेट प्रहारका लागि तयारी गरिरहेको र समुद्री माइनसमेत राख्न खोजिरहेको देखिएपछि अमेरिकी सेनाले कारबाही गरेको हो।
आक्रमणमा आफ्ना केही सदस्यको मृत्यु तथा केही घाइते भएको आईआरजीसीले पुष्टि गरेको छ। साथै, उसले अमेरिकी कारबाहीको जवाफ दिने चेतावनीसमेत दिएको छ। यसैबीच, इरानी सरकारी सञ्चारमाध्यमले इरानले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका छन्। त्यसको जवाफमा जोर्डनको सेनाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका आठवटा क्षेप्यास्त्रलाई निष्क्रिय पारेको जनाएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यमा इरानले राखेका सबै समुद्री माइन हटाइसकेको दाबी गरेका थिए। उनले पुनः माइन राख्ने कुनै पनि जहाज वा डुंगामाथि कारबाही गर्ने चेतावनी दिएका थिए।
तर इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले ट्रम्पको दाबीलाई ‘प्रचारबाजी’ भन्दै अस्वीकार गरेका छन्। इरानले ट्याङ्करहरूलाई लारक द्वीप हुँदै आवतजावत गर्न बाध्य पारिरहेको र प्रत्येक जहाजबाट २० लाख अमेरिकी डलर असुलिरहेको बताइएको छ। आईआरजीसीका प्रवक्ता होसेन मोहेब्बीले अमेरिकी आक्रमणलाई ट्रम्प प्रशासनको ‘रणनीतिक र घातक गल्ती’ भएको टिप्पणी गरेका छन्। इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमणमा दुई जनाको मृत्यु र दुई जना घाइते भएका छन्। जवाफी कारबाहीस्वरूप इरानले जोर्डनका किङ हुसेन र अल-अज्राकमा रहेका अमेरिकी सैन्य बेसमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरी ठूलो क्षति पुर्याएको दाबी गरेको छ। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध छ महिनामा प्रवेश गरेको छ। उक्त द्वन्द्वका कारण विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास ओसारपसार हुने होर्मुज जलमार्गको आवागमनसमेत प्रभावित बनेको बताइएको छ।
