सुनको मूल्य फेरि ओरालो, तोलामा २३ सय रुपैयाँ घट्यो

काठमाडौं । लगातार उतारचढाव देखिएको सुनको मूल्य बिहीबार फेरि घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार ३ सय रुपैयाँले घटेको हो। बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँ पुगेको थियो। यससँगै सुनको मूल्य फेरि ३ लाख रुपैयाँभन्दा तल झरेको छ। सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ।

बुधबार प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँ रहेको चाँदी आज ६० रुपैयाँ घटेर ४ हजार ६ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस ४ हजार ३ सय ९ अमेरिकी डलर आसपास कारोबार भइरहेको छ। यसरी पछिल्लो समय सुनको मूल्यमा दैनिकजसो उतारचढाव देखिँदा नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको छ।

Back To Top
Modern Footer Design