काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से २२ दशमलव ८५ अंकले बढेको छ। बजार परिसूचक बढेसँगै नेप्से २ हजार ६ सय ४७ अंकमा पुगेको छ।
बजारमा कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ६ अर्ब ७४ करोड रुपैयाँको सेयर कारोबार भएको हो। आज बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। बैंकिङ समूहको सूचक सबैभन्दा धेरै १ दशमलव ५९ प्रतिशतले बढेको छ। त्यस्तै जीवन बीमा समूह १ दशमलव ५२ प्रतिशत, जलविद्युत् ० दशमलव ८५ प्रतिशत र व्यापार समूह ० दशमलव ८५ प्रतिशतले उकालो लागेका छन्।
यसैगरी विकास बैंक ० दशमलव ४०, होटल तथा पर्यटन ० दशमलव ३३, लगानी ० दशमलव १०, उत्पादन तथा प्रशोधन ० दशमलव ५५, माइक्रोफाइनान्स ० दशमलव ७५ र निर्जीवन बीमा समूह ० दशमलव ४८ प्रतिशतले बढेका छन्। अन्य समूह ० दशमलव ११ र फाइनान्स समूह ० दशमलव ०२ प्रतिशतले घटेको छ। शुक्रबार कुल १९६ कम्पनीको सेयर मूल्य बढ्दा ७४ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।
मूल्य बढ्ने कम्पनीतर्फ स्नो रिभर्स १३ दशमलव ६६ प्रतिशतले अगाडि रह्यो। त्यसपछि इनिफिनिटी लघुवित्त ९ दशमलव ८१, मैलुङखोला जलविद्युत् ८ दशमलव ८४, याम्बलिङ हाइड्रोपावर ६ दशमलव २० र बोटलर्स नेपाल तराईको सेयर मूल्य ५ दशमलव ०६ प्रतिशतले बढेको छ। यता हाथवे इन्भेस्टमेन्टको सेयर मूल्य १५ प्रतिशतले घटेको छ। धौलागिरी लघुवित्त ५ दशमलव १३ र मातृभूमि लघुवित्तको मूल्य २ दशमलव ६४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, लिबर्टी इनर्जी, सिद्धार्थ बैंक, सानिमा मिडिल तमोर र शिवम् सिमेन्ट अगाडि रहेका छन्। यसरी साताको अन्तिम कारोबारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ भने बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ।
