काठमाडौँ । बडादसैँको महानवमीका दिन काठमाडौँ उपत्यकाका सडकमा सवारीसाधनको चाप निकै कम देखिएको छ। दसैँ मनाउन ठूलो सङ्ख्यामा सर्वसाधारण उपत्यका छाडेर आ–आफ्नो घर फर्किएपछि सडकमा सवारीसाधनको आवागमन घटेको हो।
महानवमीका दिन सवारीसाधनको पूजा गर्ने परम्परा रहेकाले पनि सडकमा सवारीसाधन कम देखिएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हालसम्म पाँच लाख ७६ हजारभन्दा बढी सर्वसाधारण काठमाडौँबाट बाहिरिएका छन्। दसैँ नेपालीहरूको प्रमुख पर्व भएकाले यस अवसरमा रोजगारी, अध्ययन तथा विभिन्न कामको सिलसिलामा उपत्यकामा बसोबास गर्दै आएका नागरिक गाउँघर फर्किने गर्छन्।
