महानवमीमा गुल्मीका शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड

गुल्मी । बडादसैँको नवौँ दिन महानवमीका अवसरमा गुल्मी जिल्लाका विभिन्न शक्तिपीठ तथा ऐतिहासिक मन्दिरमा भक्तजनको चहलपहल बढेको छ।

बिहानैदेखि मन्दिर पुगेका भक्तजनले नवदुर्गा भगवतीको पूजाआराधना गरी महानवमी पर्व मनाएका छन्। मुसिकोट, इस्माकोट, धुर्कोट, अर्जै, चारपाला दरबार, उजुङ्गकोट, जोगिथुम, चोयगा, शान्तिपुर र तम्घासलगायतका धार्मिक स्थलमा भक्तजनको उपस्थिति देखिएको छ। ती स्थानमा भक्तजनले पशुबलि तथा फलफूल चढाएर देवीको पूजा गरेका छन्।

मनोकामना पूरा हुने र परिवारमा सुख, शान्ति तथा समृद्धि प्राप्त हुने धार्मिक विश्वासका साथ भक्तजन शक्तिपीठ पुग्ने गरेका छन्। यद्यपि, अघिल्ला वर्षको तुलनामा मन्दिरमा आउने भक्तजनको सङ्ख्या केही घट्दै गएको स्थानीयको अनुभव छ। दसैँ मनाउन सहर तथा विदेशमा रहेका मानिस गाउँ फर्किएसँगै ग्रामीण क्षेत्रमा चहलपहल बढेको छ। परिवारका सदस्य एकै ठाउँमा भेला भएर चाडपर्व मनाउने परम्पराले गाउँघरमा दसैँको रौनक थपिएको छ।

Back To Top
Modern Footer Design