काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रविधि प्रयोग हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत प्रतियोगितामा डीआरएस लागू गरिने जानकारी दिएको हो। क्रिकेटमा अम्पायरको निर्णयमाथि पुनरावलोकन गर्न प्रयोग गरिने डीआरएस प्रविधिले खेललाई थप निष्पक्ष र विश्वसनीय बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ। यस प्रविधिमार्फत खेलाडीले अम्पायरको निर्णयमा चित्त नबुझे पुनरावलोकनको माग गर्न सक्नेछन्।
क्यानका अनुसार एनपीएलमा एलबीडब्लूको निर्णय पुनरावलोकन गर्न फुल थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग गरिनेछ। त्यसैगरी रनआउट, स्टम्पिङ र नो बलसम्बन्धी निर्णयमा पनि रिभ्यूको सुविधा उपलब्ध हुनेछ। प्रतियोगितामा कृत्रिम बुद्धिमत्ता (एआई) को सहायताले ब्याटमा बलले छोएको वा एज लागेको पहिचान गर्ने प्रविधिसमेत प्रयोग गरिनेछ। यसका अतिरिक्त वाइड बलको उचाइ, छक्काको दूरी तथा उचाइ मापन र बलिङसम्बन्धी विभिन्न विश्लेषणात्मक विवरण पनि उपलब्ध हुने क्यानले जनाएको छ। एनपीएलमा डीआरएसको प्रयोगले अम्पायरका निर्णयलाई थप प्रभावकारी बनाउन तथा खेलको गुणस्तर सुधार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
