मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार बुधबार दिउँसो ब्रेक फेल भएपछि अटो अनियन्त्रित भई दुर्घटनामा परेको हो। भनौराबाट जुरेलीतर्फ जाँदै गरेको बा.प्र.०८–००१ ह ०१०५ नम्बरको अटो दुर्घटना हुँदा बकैया–५ भनौराका ४५ वर्षीय सन्तबहादुर माझी, उनकी ४० वर्षीया श्रीमती शान्तिमाया माझी र मकवानपुरगढी गाउँपालिका–१ का ८ वर्षीय सन्देश कुमार मुक्तान घाइते भएका थिए।
घाइते तीनै जनालाई उपचारका लागि मकवानपुर सहकारी अस्पताल लगिएको थियो। त्यहाँबाट सन्तबहादुर र शान्तिमायालाई थप उपचारका लागि चितवनको भरतपुर रिफर गरिएको थियो। भरतपुर लैजाने क्रममा सन्तबहादुरको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई हेटौँडा अस्पताल ल्याइएको थियो। अस्पतालमा चिकित्सकले अपराह्न ५:२० बजे उनलाई मृत घोषणा गरेका थिए। दुर्घटनामा घाइते शान्तिमाया माझीको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ भने सन्देश कुमार मुक्तान सामान्य घाइते भएका छन्। अटो चालक बकैया गाउँपालिका–४ निवासी ५१ वर्षीय रामकाजी माझी प्रहरी नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
