काठमाडौं । भारत र चीनबीच पछिल्लो समय सम्बन्ध सुधारका प्रयास भइरहेका बेला हिमालय क्षेत्रमा सीमा तनाव फेरि बढ्न सक्ने संकेत देखिएको छ।
भारतीय सीमा प्रहरी प्रमुखले चिनियाँ सैनिक ठूलो सङ्ख्यामा विवादित क्षेत्रमा फर्किएको र पाल टाँगेर बसेको बताएपछि भारतमा राजनीतिक विवादसमेत सुरु भएको छ। भारत–तिब्बत सीमा प्रहरीका महानिर्देशक शत्रुजीत सिंह कपुरका अनुसार अरुणाचल प्रदेशका विभिन्न स्थानमा भारतीय र चिनियाँ सैनिकबीच आमनेसामने हुने अवस्था बनेको थियो। उनका अनुसार गत जुलाईमा सुरु भएको यस्तो गतिविधिमा दुवै पक्ष सुरुमा पछि हटेका थिए। तर, केही दिनपछि चिनियाँ सैनिक ठूलो सङ्ख्यामा फर्किएर भारतले आफ्नो क्षेत्र मान्दै आएको वास्तविक नियन्त्रण रेखा (एलएसी) भित्र करिब ६ देखि ७ किलोमिटरको दूरीमा पाल टाँगेको उनको दाबी छ।
भारत र चीनबीच करिब ३ हजार ४४० किलोमिटर लामो सीमा क्षेत्रमा लामो समयदेखि विवाद रहँदै आएको छ। विशेषगरी अरुणाचल प्रदेशलाई चीनले दक्षिणी तिब्बतको हिस्सा दाबी गर्दै आएको छ भने भारतले त्यसलाई आफ्नो अभिन्न भूभाग भन्दै आएको छ। सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा दुई देशका सैनिकबीच भएको झडपमा कम्तीमा २० भारतीय र चार चिनियाँ सैनिकको मृत्यु भएको थियो। त्यसपछि बिग्रिएको सम्बन्ध सुधार गर्न सन् २०२४ मा दुवै देशले सीमा तनाव कम गर्ने दिशामा कदम चालेका थिए। प्रत्यक्ष उडान र भिसासम्बन्धी प्रतिबन्ध सहज बनाउने प्रयास पनि अघि बढेको थियो।
तर, सीमा प्रहरी प्रमुखको पछिल्लो भनाइले सम्बन्ध सुधारको प्रगति कति दिगो छ भन्ने प्रश्न उठाएको छ। भारतीय सरकारले उनको दाबीलाई स्पष्ट रूपमा खण्डन गरेको छैन। भारतको विदेश मन्त्रालयले भने सीमा क्षेत्रमा चिनियाँ सेनाले नियमित गस्तीको स्थापित ढाँचा परिवर्तन गर्दा समय–समयमा अवस्था बिग्रिने गरेको जनाएको छ। चीनले भने भारतसँग भएका सम्बन्धित सम्झौता पालना गरिरहेको र सीमा क्षेत्रमा आफ्नो सार्वभौमसत्ता जोगाउन सामान्य गस्ती तथा व्यवस्थापनका गतिविधि सञ्चालन गरिरहेको बताएको छ।
सीमा विवादको असर सुरक्षामा मात्रै सीमित छैन। गत वर्ष भारत र चीनबीचको द्विपक्षीय व्यापार १५१ अर्ब अमेरिकी डलर पुगेको थियो। भारतले मेसिनरी, विद्युतीय सवारीसाधनका ब्याट्री र औषधि उत्पादनमा आवश्यक सामग्रीलगायतका वस्तुमा चिनियाँ आयातमा निर्भर रहँदै आएको छ। विश्लेषकहरूका अनुसार सीमा क्षेत्रमा तनाव कायम रहँदा दुवै देशको कूटनीतिक सम्बन्धसँगै व्यापार र पूर्वाधार विकासमा समेत असर पर्न सक्छ। त्यसैले भारत र चीनबीच सम्बन्ध सुधारका प्रयास जारी रहे पनि सीमा क्षेत्रमा स्थायी शान्ति कायम हुने विषय अझै अनिश्चित देखिएको छ।
