एसिया भ्रमणमा ट्रम्प, मनिला र चीनमा उच्चस्तरीय भेटवार्ता गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसिया भ्रमणका क्रममा फिलिपिन्सको राजधानी मनिला र चीनको सेन्जेनमा हुने महत्वपूर्ण अन्तर्राष्ट्रिय बैठक तथा भेटवार्तामा सहभागी हुँदैछन्।

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) शिखर सम्मेलनमा भाग लिन मनिला पुग्न लागेका ट्रम्पले इन्डो–प्यासिफिक क्षेत्रका चार शक्तिराष्ट्र सम्मिलित क्वाड समूहको बैठकमा समेत सहभागिता जनाउने कार्यक्रम छ। अमेरिका, जापान, अस्ट्रेलिया र भारत सदस्य रहेको क्वाडको बैठक ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएपछि पहिलोपटक हुन लागेको हो। एसिया भ्रमणकै क्रममा ट्रम्प चीनको सेन्जेनमा आयोजना हुने एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) मञ्चमा पनि सहभागी हुनेछन्। उक्त मञ्चमा विश्वका २१ अर्थतन्त्र आबद्ध छन् भने १२ देशका शीर्ष नेताहरू सम्मेलनमा उपस्थित हुने बताइएको छ।

सम्मेलनको साइडलाइनमा बिहीबार ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटमा इरान युद्ध, कृत्रिम बुद्धिमत्ता (एआई) को विकास तथा विभिन्न अन्तर्राष्ट्रिय राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ। यता, ट्रम्पको मनिला भ्रमणलाई लिएर विरोध प्रदर्शनसमेत हुन सक्ने देखिएको छ। यसअघि पश्चिम एसियाली द्वन्द्वको विरोधमा ट्रम्पको पुत्ला दहन गरिएको थियो। अमेरिकाले अघि सारेको ‘प्याक्स सिलिका’ परियोजनामा फिलिपिन्सको सहभागितालाई लिएर पनि त्यहाँ विरोध भइरहेको छ। ट्रम्पको एसिया भ्रमणलाई अमेरिका, चीन र रुसबीचको कूटनीतिक सम्बन्ध तथा इन्डो–प्यासिफिक क्षेत्रको रणनीतिक सहकार्यका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

Back To Top
Modern Footer Design