काठमाडौं । सडक दुर्घटना तथा विभिन्न विपद्मा परी घाइते हुने नागरिकलाई आफ्नै प्रदेशमा सहज र प्रभावकारी उपचार उपलब्ध गराउने उद्देश्यले सरकारले सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राष्ट्रिय ट्रमा सेन्टरको १३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएकी हुन् । उनका अनुसार आवश्यक उपकरण, दक्ष स्वास्थ्यकर्मी, विभिन्न विधाका चिकित्सकको टोली र व्यवस्थित सेवा प्रणालीसहित प्रदेशस्तरमा ट्रमा सेन्टर सञ्चालन गरिनेछ ।
यी केन्द्र स्थापना भएपछि सामान्य र मध्यम प्रकृतिका चोटपटकको उपचार प्रदेशमै गर्न सकिने र जटिल अवस्थाका बिरामीलाई अन्य अस्पतालमा पठाउने प्रणालीसमेत व्यवस्थित हुने मन्त्री मेहताको भनाइ छ । उनले दुर्घटनापछि अस्पताल पुर्याउनुअघि नै उपलब्ध गराइने आकस्मिक उपचार सेवालाई प्रभावकारी बनाउन सरकारले एम्बुलेन्स सेवा निर्देशिका, २०८२ कार्यान्वयनमा ल्याइसकेको जानकारी दिइन् ।
त्यस्तै, देशभर एउटै आकस्मिक सम्पर्क नम्बर १०२ बाट सेवा उपलब्ध गराउन संघीय र सातै प्रदेशका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबिसै घण्टा सञ्चालनमा राखिएको उनले बताइन् । मन्त्री मेहताले ट्रमा उपचारलाई शल्यक्रिया र औषधोपचारमा मात्रै सीमित नराखी बिरामीको शारीरिक पुनःस्थापना तथा मनोसामाजिक परामर्शलाई पनि उपचार प्रणालीको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिइन् ।
दुर्घटनापछि उत्पन्न हुन सक्ने शारीरिक अपाङ्गता र मानसिक समस्यालाई सम्बोधन गर्न पुनःस्थापना सेवाको दायरा विस्तार गर्ने सरकारको नीति रहेको पनि उनले स्पष्ट पारिन् । राष्ट्रिय ट्रमा सेन्टरको सेवा विस्तार र संस्थागत क्षमता अभिवृद्धिमा मन्त्रालय सकारात्मक रहेको उल्लेख गर्दै उनले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृति र आवश्यक कर्मचारी दरबन्दी व्यवस्थापनको विषयलाई छिट्टै टुंगोमा पुर्याउने बताइन् ।
