नेपालको पछिल्लो राजनीतिक परिवर्तनको मुख्य श्रेय काठमाडौं महानगरबासीलाई जान्छ, जसले परम्परागत दलीय राजनीतिभन्दा माथि उठेर एक स्वतन्त्र अनुहारलाई नगर प्रमुखमा निर्वाचित गरे। पुराना नेता र दलहरूप्रति व्याप्त अविश्वासलाई मतमार्फत व्यक्त गर्दै नगरबासीले बालेन्द्र शाह (बालेन) लाई जिम्मेवारी सुम्पिए, जुन नेपाली राजनीतिकै एउटा टर्निङ पोइन्ट सावित भयो।
निर्वाचित भएपछि बालेनले महानगरपालिकाभित्र चालेका केही साहसिक कदम र सुधारका प्रयासहरूले उनलाई जनमानसमा झनै स्थापित गरायो। स्थानीय तहमा देखिएको उनको सक्रियताले गर्दा आज बालेन केवल एक मेयरमा मात्र सीमित छैनन्; उनी नागरिकको भरोसाको केन्द्र बन्दै देशकै शक्तिको केन्द्रमा आइपुगेका छन्। अहिले उनी देशको बागडोर सम्हाल्ने महत्वपूर्ण र शक्तिशाली भूमिकामा देखिन्छन्, जसले गर्दा स्वदेश तथा विदेशमा उनको चर्चा चुलिएको छ।
बालेनको यो उचाइमा पुग्नुमा सञ्चार माध्यमको पनि ठूलो भूमिका देखिन्छ। विशेष गरी ‘हरेक न्युज’का कृष्ण कटेल जस्ता सञ्चारकर्मीले महानगरका सानाभन्दा साना सकारात्मक कामलाई लाखौँ दर्शकसम्म पुर्याउन महत्वपूर्ण योगदान दिए। सामाजिक सञ्जाल र युट्युबमा भएका यस्ता सामग्रीले बालेनको लोकप्रियतालाई मास-स्तरसम्म फैलाउन इन्धनको काम गर्यो।
बाहिरबाट हेर्दा यो परिवर्तन स्वतःस्फूर्त देखिए पनि यसका केही अनुत्तरित पक्षहरूमाथि समेत बहस सुरु भएको छ। यो राजनीतिक परिवर्तन पूर्णतः ‘स्वचालित’ थियो वा यसका पछाडि कुनै ‘निर्देशक, सम्पादक वा लगानीकर्ता’ को डिजाइन थियो भन्ने प्रश्नहरू उठ्न थालेका छन्।
बालेनको यो यात्रामा पर्दा पछाडि कसले कस्तो भूमिका खेल्यो र यो परिवर्तन कसरी रचना गरियो भन्ने कुरा आगामी दिनले प्रष्ट पार्दै लैजाने निश्चित छ।
वर्तमान अवस्थामा बालेनका लागि सबैभन्दा ठूलो चुनौती भनेको आफ्नो राजनीतिक साख र जनताको विश्वासलाई जाेगाई राख्नु हाे।
बढ्दो शक्ति र जिम्मेवारीलाई नतिजामुखी बनाउनु हाे।
परिचालित र स्वचालित भन्ने संशयका बीच आफ्नो स्वतन्त्र छवि जोगाइराख्नु ठुलाे चुनाैति रहेकाे छ।
काठमाडौंबासीको योगदानले यहाँसम्म आइपुगेका बालेनका लागि अबको यात्रा थप चुनौतीपूर्ण तर ऐतिहासिक हुने देखिन्छ।
