आज चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौँ । देशमा मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने देखिएको हो। दिउँसो कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। यस्तै, राति कोसी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रसँगै वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। विभागका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ। मधेससहित कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तथा सुदूरपश्चिमको तराई क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। रातिको समयमा पनि देशभर सामान्य बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा थोरै स्थानमा वर्षा वा हिमपात हुनसक्नेछ। त्यस्तै, कोसी, वाग्मती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानमा समेत मध्यम वर्षा हुनसक्ने विभागको अनुमान छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमा रहेको विभागले जनाएको छ। भारी वर्षाको सम्भावना भएका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिमलाई ध्यान दिई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

Back To Top
Modern Footer Design