अमेरिका । मध्यपूर्वमा लामो समयदेखि जारी तनाव र द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच महत्वपूर्ण सहमति भएपछि अमेरिकाले इरानमाथि लागू गर्दै आएको सामुद्रिक नाकाबन्दी हटाएको छ। यस कदमलाई क्षेत्रीय स्थायित्वतर्फको महत्वपूर्ण प्रगतिका रूपमा हेरिएको छ।
अमेरिकी सेन्ट्रल कमाण्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार नाकाबन्दी समाप्त गरिएको पुष्टि गरेको छ। यद्यपि, सुरक्षा अवस्थालाई ध्यानमा राख्दै केही अमेरिकी नौसैनिक जहाजहरू भने सो क्षेत्रमा यथावत् रहने जनाइएको छ। सम्झौतापछि इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिएका छन्। गत फेब्रुअरीमा अमेरिकी–इजरायली आक्रमणमा आफ्ना पिता आयतोल्लाह अली खामेनीको मृत्यु भएपछि नेतृत्व सम्हालेका उनले अमेरिकी प्रशासन सम्झौतामा आउन बाध्य भएको दाबी गरेका छन्।
खामेनीले इरानी जनताको हित र राष्ट्रिय अधिकारको रक्षा हुने सुनिश्चिततापछि मात्र सम्झौतालाई समर्थन गरेको बताएका छन्। साथै, उनले अमेरिकासँगको संवादलाई कमजोरीको संकेतका रूपमा नबुझ्न आग्रह गर्दै राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राखिने स्पष्ट पारे। यता अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत प्रतिक्रिया दिँदै सम्झौताले मध्यपूर्वमा व्यापक युद्धविराम र स्थायित्वको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्। उनले विशेषगरी इरान समर्थित हिजबुल्लाह र इजरायलबीचको तनाव समेत कम हुने अपेक्षा गरेका छन्।
बीबीसीका अनुसार सम्झौतामा १४ वटा प्रमुख बुँदा समावेश छन्। तीमध्ये रणनीतिक महत्व बोकेको हर्मुज जलसन्धि पुनः सञ्चालन गर्ने, इरानले आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाउने तथा इरानको आर्थिक पुनर्निर्माणका लागि ३०० अर्ब अमेरिकी डलर बराबरको कोष स्थापना गर्ने विषय उल्लेखनीय छन्। उक्त कोषमा अमेरिकाले प्रत्यक्ष आर्थिक योगदान नगर्ने जनाइएको छ। सम्झौताका प्रावधानहरू आगामी ६० दिनभित्र पूर्ण रूपमा कार्यान्वयनमा लैजाने लक्ष्य राखिएको छ। स्विजरल्यान्डमा आयोजना गर्ने तयारी गरिएको औपचारिक हस्ताक्षर कार्यक्रम रद्द भए पनि दुवै पक्षले भर्चुअल माध्यमबाट सम्झौतामा हस्ताक्षर गरिसकेका छन्। थप प्राविधिक छलफलका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स निकट भविष्यमै स्विजरल्यान्ड जाने तयारीमा रहेको बताइएको छ।
यद्यपि, अमेरिकाभित्र भने सम्झौताप्रति मिश्रित प्रतिक्रिया देखिएको छ। रिपब्लिकन सिनेटर बिल क्यासिडीले यसलाई पछिल्ला वर्षहरूकै गम्भीर कूटनीतिक त्रुटि भन्दै आलोचना गरेका छन्। उनका अनुसार इरानको आणविक कार्यक्रमलाई पर्याप्त रूपमा नियन्त्रण नगरी नाकाबन्दी हटाइनु जोखिमपूर्ण निर्णय हो। आलोचनाको जवाफ दिँदै उपराष्ट्रपति भान्सले इरानले आफ्ना सबै प्रतिबद्धता पूरा नगरेसम्म थप प्रतिबन्धहरू हटाइने छैनन् भन्दै सम्झौताको बचाउ गरेका छन्। सम्झौताप्रति असन्तुष्टि जनाएका इजरायली मन्त्री इतामार बेन ग्विर र बेजालेल स्मोट्रिचको प्रतिक्रियापछि भान्सले इजरायली नेतृत्वलाई परिस्थितिको यथार्थ मूल्याङ्कन गर्न आग्रह गरेका छन्। अमेरिका–इरान सम्बन्धमा आएको यो नयाँ मोडले मध्यपूर्वको राजनीतिक तथा सुरक्षा समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।
