काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। विशेषगरी सुनको मूल्य एकैदिन प्रतितोला ७ हजार २०० रुपैयाँले उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो कारोबार दिन बिहीबार यही सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १६५ रुपैयाँले बढेको छ। यससँगै शुक्रबार चाँदी प्रतितोला ४ हजार ६१५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ। नेपालमा सुन तथा चाँदीको दैनिक मूल्य अन्तर्राष्ट्रिय बजारको उतारचढावका आधारमा निर्धारण हुँदै आएको छ।
