अमेरिका । क्रोएसियाका अनुभवी मिडफिल्डर लुका मोड्रिकको विश्वकप यात्रा लगभग अन्त्यतिर पुगेको मानिएको छ। पोर्चुगलसँग २–१ गोलले पराजित भएपछि ४० वर्षीय मोड्रिकले सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल खेलेका हुन्।
खेल समाप्तिपछि मोड्रिक र ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोबीच आत्मीय संवाद भएको दृश्यले सबैको ध्यान खिच्यो। रियल म्याड्रिडमा छ सिजन सँगै बिताएका यी दुई खेलाडीले चार पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेका थिए। अहिले उनीहरू दुवै अन्तर्राष्ट्रिय फुटबल करिअरको अन्तिम चरणमा पुगेका मानिन्छन्। क्रोएसियाका मुख्य प्रशिक्षक ज्लाटको डालिचले मोड्रिकको बिदाइ यस्तो परिस्थितिमा हुनुपरेकोमा दुःख व्यक्त गर्दै उनले अन्तिम समयसम्म पनि उत्कृष्ट नेतृत्व, समर्पण र उच्चस्तरीय प्रदर्शन कायम राखेको बताए। उनका अनुसार मोड्रिक सधैँ क्रोएसियाली फुटबलका सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एक रहनेछन्।
पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि मोड्रिकको खुलेर प्रशंसा गरे। उनले मोड्रिकले आफ्नो खेल शैलीबाट विश्वभरका लाखौँ युवा फुटबलरलाई प्रेरणा दिएको बताए। बलमाथिको नियन्त्रण, सही निर्णय क्षमता, खेलको लय बुझ्ने कला र अवसर सिर्जना गर्ने सीपका कारण उनी अझै पनि उत्कृष्ट स्तरमा खेलिरहेको मार्टिनेजको भनाइ थियो। मोड्रिकले सन् २०१८ को विश्वकपमा क्रोएसियालाई उपविजेता र २०२२ को विश्वकपमा तेस्रो स्थानसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। हाल एसी मिलानबाट खेलिरहेका उनले गत महिना आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल पूरा गरेका थिए। पानामाविरुद्धको जितपछि टोलीका खेलाडीहरूले उनलाई काँधमा उचालेर सम्मान व्यक्त गरेका थिए। उता, समूह चरणमा आलोचनाको सामना गरेका क्रिस्टियानो रोनाल्डोले भने पोर्चुगलको जितमा महत्वपूर्ण भूमिका निभाए। उनले दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए।
