काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।
विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल नेपालभर मनसुनी वायु सक्रिय छ। मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा औसत स्थानभन्दा केही माथि नेपालको तराई नजिक तथा पूर्वी क्षेत्रमा औसत स्थानकै आसपास रहेकाले आगामी तीन दिनसम्म उल्लेख्य वर्षा हुने सम्भावना रहेको उनले बताए। विभागका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षा हुने तथा एक–दुई स्थानमा धेरै भारी वर्षा पर्न सक्ने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
निरन्तर वर्षाका कारण नदी तथा खोलामा बहाव बढ्ने, बाढी, पहिरो र भूक्षयको जोखिम उच्च रहने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। साथै, मौसम प्रतिकूल हुँदा दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन पनि अनुरोध गरिएको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ।
अधिकांश पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा केही स्थानमा हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ। यस्तै, आज राति पनि देशभर बदली कायम रहनेछ। अधिकांश पहाडी र तराई क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन विभागले पुनः आग्रह गरेको छ।
