वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष सञ्जय पटेल कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय पोखरियाले मंगलबार उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार गाउँपालिकाका एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट गरेको घटनामा अभद्र व्यवहार मुद्दाअन्तर्गत पटेललाई आफ्नै गाउँ हरिहरपुर बिर्ताबाट पक्राउ गरिएको हो। डीएसपी चक्र मल्लका अनुसार गत असार २३ गते गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि गाउँ कार्यपालिकाको कार्यालयभित्रै कुटपिट तथा दुर्व्यवहार भएको आरोप छ।
उक्त घटनापछि गाउँपालिकाका कर्मचारीहरूले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै आएका थिए। प्रहरीले पक्राउ परेका वडाध्यक्ष पटेललाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउने तयारी गरेको जनाएको छ। घटनामा अन्य व्यक्तिको पनि संलग्नता रहेको आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। फरार रहेका अन्य आरोपितको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
