कांग्रेसले गुमाएको नैतिक अधिकार पुनःस्थापित गर्नुपर्छः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले समाजमा गुमाउँदै गएको नैतिक अधिकार र राजनीतिक पहिचान पुनःस्थापित गर्नुपर्ने बताएका छन्।

मंगलबार काठमाडौँमा कांग्रेसका महामन्त्री गुरुराज घिमिरेद्वारा लिखित ‘बुद्ध, बीपी र आजका नेता तथा लिलिपुटका लघुमानव’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै थापाले विगतका राजनीतिक घटना र नेताहरूमाथि समीक्षा हुनु स्वाभाविक भए पनि अहिलेको मुख्य चुनौती कांग्रेसको नैतिक विश्वसनीयता पुनः स्थापित गर्नु रहेको बताए। उनले २०७२ देखि २०८२ सम्मको दशकलाई कांग्रेसका लागि कठिन र आत्मसमीक्षाको समयको रूपमा उल्लेख गर्दै त्यस अवधिका कमजोरीबाट पाठ सिकेर अघि बढ्नुपर्ने धारणा राखे। सिद्धान्त र मूल्य–मान्यताभन्दा सत्ता र शक्तिको राजनीतिलाई प्राथमिकता दिँदा पार्टीले महत्वपूर्ण समय गुमाएको उनको भनाइ थियो।

थापाले कांग्रेसलाई पुनः जनविश्वासको केन्द्रमा स्थापित गर्न पार्टीका संस्थापक नेताहरूको आदर्श, सिद्धान्त र मूल्यलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताए। उनका अनुसार तल्लो तहबाट आएका कार्यकर्ता तथा युवा पुस्ताले पार्टीलाई सही दिशामा लैजान प्रयास गरिरहेका छन्। पार्टी सुधार र रूपान्तरणका लागि प्रतिबद्ध भएर काम गरिरहेका युवा तथा सक्रिय कार्यकर्तालाई आफ्नो पूर्ण साथ र समर्थन रहने उनले बताए। कांग्रेसलाई फेरि सान्दर्भिक, विश्वासिलो र जनमुखी बनाउन सबै नेता–कार्यकर्ता एकजुट हुनुपर्नेमा उनले जोड दिए।

Back To Top
Modern Footer Design