सडकको दुर्दशाले ढोरपाटन पुग्न सास्ती

बागलुङ । सडकको दयनीय अवस्थाका कारण ढोरपाटन पुग्ने स्थानीय बासिन्दा तथा पर्यटकले निकै सास्ती व्यहोर्नुपरेको छ। विशेषगरी फल्लेघरदेखि देउरालीसम्मको करिब तीन किलोमिटर सडक खण्ड अस्तव्यस्त बनेपछि वर्षायाममा आवतजावत झन् कष्टकर बनेको हो।

ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्तीका अनुसार निर्माण कम्पनीले वर्षायाममै सडक विस्तारको काम सुरु गरेपछि समस्या थप जटिल बनेको छ। पानी परेपछि पहिरो खस्ने, सडक हिलाम्मे हुने र सवारी सञ्चालन अवरुद्ध हुने अवस्था बारम्बार दोहोरिने गरेको उनले बताए। उनका अनुसार वर्षाको समयमा सडक खन्न नहुने भन्दै स्थानीय तहले पटक–पटक आग्रह गरे पनि निर्माण कम्पनीले बेवास्ता गर्दा अहिले यात्रुहरूले सास्ती खेप्नुपरेको हो।

बुर्तिबाङदेखि फल्लेघरसम्मको २८ किलोमिटर सडक ग्राभेल भए पनि ढोरपाटन उपत्यका जोड्ने अन्तिम तीन किलोमिटर सडक अझै जीर्ण अवस्थामा छ। विसं २०६६ देखि निर्माण सुरु भएको सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङ खण्डको काम अझै पूरा हुन नसक्दा हरेक वर्षायाममा यातायात सेवा प्रभावित हुँदै आएको छ। ढोरपाटनका पर्यटन व्यवसायी शिवराज कँडेलले पर्यटकीय मौसममै सडक बिग्रिँदा व्यवसायमा प्रत्यक्ष असर परेको बताए। उनका अनुसार सडकको खराब अवस्थाका साथै सञ्चारलगायत आधारभूत सुविधाको अभावका कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या घटेको छ।

पछिल्ला वर्षहरूमा मनसुन पदयात्राका लागि ढोरपाटन लोकप्रिय गन्तव्य बन्दै गएको छ। वर्षायाममा फुल्ने बुकीफूल, हरियालीले ढाकिएका डाँडापाखा, उच्च पहाडी पाटन, भेँडीगोठ तथा लेकाली जीवनशैली अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक ढोरपाटन पुग्ने गर्छन्। तर सडकको दयनीय अवस्थाले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा चुनौती थपिएको व्यवसायीहरूको गुनासो छ।

Back To Top
Modern Footer Design