काठमाडौँ । फ्रान्स र स्पेनका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण दुई देशमा गरी २ लाख ५० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। उच्च तापक्रम र तीव्र हावाका कारण आगो नियन्त्रणमा लिन कठिनाइ भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
फ्रान्सको दक्षिणपश्चिम क्षेत्रमा फैलिएको आगो बोरदो सहरनजिक पुग्न थालेपछि आसपासका सात नगरका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सारिएको छ। अधिकारीहरूका अनुसार डढेलो अझै नियन्त्रणमा आइनसकेको र बोरदोबाट करिब ४० देखि ५० किलोमिटर क्षेत्रसम्म फैलिएको छ। आगलागीबाट उत्पन्न धुवाँ सहरसम्म पुगेपछि स्थानीयवासी प्रभावित बनेका छन्। गिरोन्दे र लान्देस क्षेत्रमा मात्रै करिब दुई लाख मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। आगो नियन्त्रणका लागि फ्रान्सले सेना परिचालन गर्नुका साथै वन क्षेत्र सफा गर्ने र आगो फैलिन नदिने अवरोध निर्माणको काम अघि बढाएको छ।
डढेलो नियन्त्रण अभियानमा युरोपेली संघका सदस्य राष्ट्रहरूले पनि सहयोग गरिरहेका छन्। क्रोएसिया, पोर्चुगल, चेक गणतन्त्र, स्लोभाकिया र रोमानियाले विमान, हेलिकोप्टर तथा उद्धार टोली फ्रान्स पठाएका छन्। युरोपेली आयोगका अनुसार ईयूको संयुक्त आपत्कालीन संयन्त्रमार्फत फ्रान्स र स्पेनमा ११ वटा हवाई साधन परिचालन गरिएको छ। डढेलोको प्रभाव खेल क्षेत्रमा पनि परेको छ। फ्रान्समा आयोजना भइरहेको टुर डे फ्रान्स साइकल प्रतियोगिताको अन्तिम चरणको दूरी सुरक्षाको कारण घटाइएको छ, ताकि उद्धार तथा नियन्त्रण कार्यमा थप जनशक्ति परिचालन गर्न सकियोस्।
यसैबीच फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले देशभर फैलिएका करिब ३० वटा डढेलोबारे छलफल गर्न आकस्मिक बैठक बोलाएका छन्। फ्रान्स सरकारले अवस्थालाई गम्भीर राष्ट्रिय संकटका रूपमा लिएको जनाएको छ। स्पेनमा पनि डढेलोका कारण आपत्कालीन अवस्था घोषणा गरिएको छ। राजधानी म्याड्रिड र आसपासका क्षेत्रमा केही स्थानमा मौसममा सुधार आएपछि आगोको तीव्रता केही घटे पनि जोखिम अझै कायम रहेको अधिकारीहरूले बताएका छन्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले डढेलो नियन्त्रणका लागि उपलब्ध मौसमीय अनुकूलतालाई अधिकतम उपयोग गर्नुपर्ने बताएका छन्। गृह मन्त्रालयका अनुसार म्याड्रिड र अभिला क्षेत्रमा मात्रै करिब ६० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने हजारौं मानिस घरभित्रै बस्न बाध्य छन्।
अधिकारीहरूका अनुसार यस वर्ष स्पेनमा हालसम्म १ लाख ३० हजार हेक्टरभन्दा बढी वन क्षेत्र डढेलोले नष्ट गरिसकेको छ। फ्रान्समा पनि सन् २०२६ को सुरुदेखि हालसम्म करिब ९८ हजार हेक्टर क्षेत्रफलमा आगलागीको असर परेको छ। युरोपका अन्य मुलुकहरू पनि डढेलोको चपेटामा परेका छन्। इटालीको सिसिली टापुमा सयौं स्थानमा आगलागी भएको छ भने स्कटल्यान्डको केर्नगर्म्स राष्ट्रिय निकुञ्जमा लामो समयदेखि जारी डढेलो नियन्त्रणका लागि आपत्कालीन अवस्था घोषणा गरिएको छ। युरोपेली संघकी संकट व्यवस्थापन आयुक्त हाजा लाहबिबले यस वर्ष डढेलोबाट हुने क्षति विगतका वर्षहरूको तुलनामा अझ बढी हुन सक्ने चेतावनी दिएकी छन्। उनका अनुसार युरोपभर गर्मी याम चाँडै सुरु भएकाले वन डढेलोको जोखिम उल्लेखनीय रूपमा बढेको छ।
