काठमाडौँ। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष च्याम्पियनसिपअन्तर्गत नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। पाकिस्तानको इस्लामावादमा जारी प्रतियोगितामा नेपाली टोली पहिलो जित निकाल्ने लक्ष्यका साथ कोर्टमा उत्रिन लागेको हो।
नेपाल र बंगलादेशबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ। लगातार तीन खेलमा पराजित भएको नेपालका लागि सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न आजको खेल निर्णायक मानिएको छ। नेपालले आफ्नो पछिल्लो खेलमा आयोजक पाकिस्तानसँग सोझो सेटमा हार बेहोरेको थियो। उक्त खेलमा पाकिस्तानले २५–१४, २५–१८ र २५–१० को सेटमा सहज जित दर्ता गरेको थियो। यसअघि नेपाल काजकिस्तान र श्रीलंकासँग पनि प्रतिस्पर्धात्मक खेलमा समान ३–२ सेटले पराजित भएको थियो।
प्रतियोगिता सिंगल राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन भइरहेको छ। लिग चरणको समाप्तिपछि शीर्ष चार स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछन् भने बाँकी टोलीले पाँचौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। नेपालले लिग चरणको आफ्नो अन्तिम खेल सोमबार उज्वेकिस्तानसँग खेल्ने तालिका रहेको छ। त्यसअघि बंगलादेशविरुद्ध जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्य नेपाली टोलीको रहेको छ।
