आज केही प्रदेशमा भारी वर्षाको चेतावनी, बाढीपहिरोको जोखिम बढ्न सक्ने

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर अवस्थामै रहेको छ। हाल कोशी प्रदेशको तराई क्षेत्रमा अधिकांश स्थानमा मौसम सफा भए पनि अन्य भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहने तथा तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। त्यस्तै, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

महाशाखाले विशेषगरी बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ। रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ भने तराईका केही स्थानमा पनि वर्षाको सम्भावना रहनेछ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रमा बाढी, पहिरो, गेग्रान बग्ने तथा भूक्षयको जोखिम बढ्न सक्ने महाशाखाले चेतावनी दिएको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचनालाई नियमित रूपमा पछ्याउन महाशाखाले सर्वसाधारणसँग आग्रह गरेको छ।

Back To Top
Modern Footer Design